विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत तेस्रो मुलुकबाट आयातित मालसामान ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। यससँगै पूर्वी नेपालको उद्योग–व्यवसाय क्षेत्रले लामो समयदेखि पर्खिएको रेलमार्गीय ढुवानी सेवा औपचारिक रूपमा सुरु भएको छ।
शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थ बोकेको मालवाहक रेल आइतबार विराटनगर आइपुग्ने अपेक्षा गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएकाले ढुवानीको सम्पूर्ण प्रक्रिया अनलाइन निगरानीमा रहनेछ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार सेवा नियमित भएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले आयात प्रक्रियामा लाग्ने समय र लागत दुवै उल्लेख्य रूपमा घट्नेछ। उनका अनुसार यसले उद्योग सञ्चालनलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवा उद्घाटन गरिए पनि नियमित सञ्चालन हुन सकेको थिएन। २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो। आवश्यक नीतिगत सुधार र नेपाल–भारतबीचको प्रक्रियागत समन्वय पूरा भएसँगै अहिले भने कोलकाता बन्दरगाहबाटै सिधा विराटनगरसम्म रेलमार्फत मालसामान ल्याउने बाटो खुलेको हो।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले २०२५ नोभेम्बर ४ मा ईसीटीएस सम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो। त्यसको आधारमा कोलकाता भन्सारले २०२६ फेब्रुअरी २६ देखि जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म रेलमार्फत मालसामान ल्याउने प्रक्रियागत व्यवस्था लागू गरेको हो।
पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। यसअघि यस्तो सुविधा मुख्यतः वीरगञ्ज नाकामा मात्र उपलब्ध थियो।
रेलमार्फत ढुवानी सुरु भएपछि सडकमार्गको निर्भरता घट्ने, बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन तथा विलम्ब शुल्क कम हुने, ढुवानी खर्च घट्ने र सामान छिटो गन्तव्यमा पुग्ने अपेक्षा गरिएको छ। यसबाट पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात तथा समग्र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उद्योगीहरूको विश्वास छ।
-प्रदेश खवरको सहयोगमा







