झापा : झापाको शिवसताक्षी नगरपालिका–११ रमिते डाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी–११ शेर्माटोल बस्ने रुकमान राईका १६ वर्षीय छोरा रुविन राई रहेका छन् । शुक्रबार बिहान २ः३० बजे प्र १–०१–०१६ प ६०६४ नम्बरको मोटरसाइकल चलाइरहेका रुविनको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि साथीहरूले घाइते रुविनलाई को ३८ प ९५७ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनसाथ चिकित्सकले बिहान ४ः०५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनाका बेला रुविनको मोटरसाइकलको पछाडि शिवसताक्षी–८ का १६ वर्षीय पुजन अधिकारी पछाडि सवार थिए । प्रहरीले अधिकारीसहित को ३८ प ९५७ नम्बरको मोटरसाइकलका चालक शिवसताक्षी–११ का १५ वर्षीय लालबहादुर (लावाहाङ) लिम्बू, १६ वर्षीय ईश्वर राई तथा पछाडि सवार शिवसताक्षी–८ का विशाल तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
मृतकसहितका मोटरसाइकल चालकहरुसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।







