सुनसरी : कोशी प्रदेशको सुनसरी बराहक्षेत्र नगरपालिका–६ स्थित बोराबाँध (सप्तकोशी नदीको बगर) अब प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विकसित हुने तयारीमा छ।

स्थानीय युवा पर्यटन व्यवसायी सुरेन राईको नेतृत्वमा बी.जी. नेपाल एडभेन्चरमार्फत नेपालमै पहिलो पटक व्यावसायिक रूपमा प्यारामोटर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो।

झन्डै २५ बिघा क्षेत्रफलमा फैलिएको बोराबाँधलाई साहसिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्यसहित परियोजना अघि बढाइएको बी.जी. नेपाल एडभेन्चरका निर्देशक सुरेन राईले प्रदेश खबरलाई बताए।

हाल उक्त क्षेत्रमा एटीभी (ATV) राइड सञ्चालनमा आइसकेको छ। अब त्यससँगै प्यारामोटर सेवा थपेर आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना रहेको उनले बताए।

राईका अनुसार ताइवानबाट दुईवटा एटीभी ल्याएर सञ्चालनमा ल्याइसकिएको छ भने थप दुईवटा एटीभी आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। एउटा एटीभी खरिद गर्न करिब १२ लाख ५० हजार रुपैयाँ खर्च हुने उनले जानकारी दिए।

बोराबाँध क्षेत्रमा हाल १३ वटा डुङ्गा सञ्चालनमा छन्। तीमध्ये बी.जी. नेपाल एडभेन्चरको नाममा एउटा डुङ्गा सञ्चालन भइरहेको छ।

यहाँ पुग्ने पर्यटकले सप्तकोशीको मनमोहक सूर्यास्त अवलोकन गर्न, दुर्लभ डल्फिन हेर्न, काठको डुङ्गामा सयर गर्न, घोडचढी (हर्स राइडिङ) गर्न तथा एटीभी राइडको अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।

राईले सरकारले साउन महिनादेखि एटीभीलाई विलासी वस्तुको सूचीमा राखेर कर बढाउने निर्णयप्रति असन्तुष्टि जनाए। पर्यटन क्षेत्रमा लगानी गर्ने युवालाई प्रोत्साहन गर्नुको सट्टा थप आर्थिक भार सिर्जना गरिएको उनको गुनासो छ।

‘हामीले घर–जग्गा र खेतसमेत धितो राखेर पर्यटन व्यवसाय सुरु गरेका छौँ। यस्तो अवस्थामा कर बढाउनुको सट्टा पर्यटनमा लगानी गर्ने युवालाई सरकारले प्रोत्साहन गर्नुपर्थ्यो,’ उनले भने।

राईका अनुसार नेपालमै पहिलो पटक व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको प्यारामोटर विदेशबाट अर्डर भइसकेको छ। यसको एसेम्बल काठमाडौंस्थित राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न गरी वराहक्षेत्र ल्याइने तयारी गरिएको छ।

प्यारामोटर इन्जिन जडित प्याराग्लाइडिङ प्रणाली हो, जसमा पाइलटले पछाडि मोटरयुक्त प्रोपेलर बोकेर खुला स्थानबाट दौडिएर उडान भर्छ।

इन्जिनको सहायताले आवश्यक उचाइ लिन, दिशा परिवर्तन गर्न तथा लामो दूरीसम्म उडान गर्न सकिने भएकाले विश्वका धेरै देशमा यो साहसिक पर्यटन, हवाई दृश्यावलोकन, फोटोग्राफी तथा मनोरञ्जनका लागि लोकप्रिय गतिविधिका रूपमा विकास हुँदै आएको छ।

राईले प्यारामोटर सेवा सम्बन्धित सरकारी निकायबाट आवश्यक अनुमति, स्वीकृति तथा लाइसेन्स प्राप्त पाइलटमार्फत मात्र सञ्चालन गरिने स्पष्ट पारे। परियोजनामा विपिन मगर, प्रकाश राईलगायतको टोली पनि संलग्न रहेको उनले जानकारी दिए।

प्रारम्भिक चरणमा वराहक्षेत्र–६ स्थित सप्तकोशी नदीको बगर (बोराबाँध) बाट परीक्षण उडान गरिनेछ।

पहिलो चरणमा करिब एक महिनाको परीक्षण सञ्चालन अनुमति प्राप्त हुने अपेक्षा गरिएको छ। सबै प्रक्रिया समयमै पूरा भए आगामी दसैँअघि नै व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य रहेको राईले बताए।

उनका अनुसार वराहक्षेत्र धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित भए पनि अब साहसिक पर्यटनको नयाँ पहिचान दिलाउने उद्देश्यले परियोजना अघि बढाइएको हो।

‘सरकारबाट आवश्यक सहयोग र सहजीकरण प्राप्त भए बराहक्षेत्रलाई कोशी प्रदेशकै नमुना साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने।

– प्रदेश खवरको सहयोगमा

तपाईको प्रतिक्रिया