विराटनगर, विराटनगर–११ स्थित पारस अस्पतालले भारतको नयाँदिल्लीस्थित एम्स (AIIMS) मा कार्यरत फिजिसियन डा. विमलेश यादवलाई आबद्ध गराउँदै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा अस्पतालले डा. यादवलाई औपचारिक स्वागत गर्दै सेवा विस्तारको नयाँ चरण सुरु भएको जनाएको हो।
अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमानले डा. यादवको आगमनसँगै पूर्वी नेपालका बिरामीले मधुमेह, उच्च रक्तचाप, थाइराइड, जटिल आन्तरिक रोग तथा दीर्घरोगको विशेषज्ञ उपचार आफ्नै क्षेत्रमा सहज रूपमा पाउने विश्वास व्यक्त गरे। उनका अनुसार यसले उपचारका लागि भारत वा काठमाडौं जानुपर्ने बाध्यता उल्लेखनीय रूपमा घटाउनेछ।
कार्यक्रममा अस्पतालका डा. मुनेश्वर साहलाई मेडिकल डाइरेक्टरमा पदोन्नति भएको अवसरमा सम्मानसमेत गरिएको थियो।
अध्यक्ष रहमानले छोटो अवधिमै पारस अस्पताल पूर्वी नेपालको भरोसायोग्य स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको दाबी गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने बताए।
उनले अस्पतालमा गुणस्तरीय सेवा, आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण नेपालसँगै भारतका सीमावर्ती क्षेत्रका बिरामीको आकर्षण बढ्दै गएको जानकारी दिए। उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत भारतको बिहारलगायत सीमावर्ती राज्यबाट आउने गरेका छन्।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमनारायण मेहताले तीन वर्ष नपुग्दै अस्पताल १६ कर्मचारीबाट विस्तार भएर हाल १३६ जनाको टोलीमा पुगेको बताए। उनका अनुसार ५० शय्याबाट सञ्चालन सुरु गरिएको अस्पताललाई चरणबद्ध रूपमा ३०० शय्याको बहुविशेषज्ञ अस्पतालमा विस्तार गर्ने योजना रहेको छ।
नवनियुक्त फिजिसियन डा. विमलेश यादवले एम्समा हासिल गरेको अनुभव पूर्वी नेपालका बिरामीको सेवामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमाणमा आधारित उपचार, समयमै रोग पहिचान र बिरामीमैत्री सेवामा जोड दिने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित तथा पारस अस्पतालका प्रेस सल्लाहकार वीरेन्द्रकुमार साहलगायतले अस्पताल र सञ्चार क्षेत्रबीचको सहकार्यको प्रशंसा गरेका थिए।
सोही अवसरमा अध्यक्ष रहमानले नेपाल पत्रकार महासंघ कोशी प्रदेश र मोरङ शाखामा आबद्ध पत्रकारहरूको उपचार निःशुल्क गर्ने घोषणा गर्दै स्वास्थ्य सेवा व्यवसाय मात्र नभई सामाजिक दायित्वसमेत भएको बताए। साथै, भविष्यमा विशेषज्ञ जनशक्ति, अत्याधुनिक प्रविधि र पूर्वाधारमा निरन्तर लगानी गर्दै पूर्वी नेपाललाई उच्चस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।






