सङ्खुवासभा- भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको भारत सरकारका ऊर्जा सचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।

भ्रमणका क्रममा टोलीले चिचिला गाउँपालिकाको पुखुवास्थित भूमिगत विद्युतगृह तथा मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित बाँध क्षेत्रको अवलोकन गर्‍यो।

निरीक्षणका क्रममा आयोजनाको सिभिल तथा इलेक्ट्रो–मेकानिकल संरचना, बाँध, इन्टेक प्रणाली तथा अन्य पूर्वाधार निर्माणको प्रगति, कार्यान्वयनको अवस्था र आगामी कार्ययोजनाबारे जानकारी लिइएको थियो।

निरीक्षणपछि आयोजित समीक्षा बैठकमा सचिव अग्रवालले दुर्गम हिमाली क्षेत्रमा निर्माण भइरहेको आयोजनाले उल्लेखनीय प्रगति हासिल गरेको भन्दै खुसी व्यक्त गरे।

उनले निर्माणकार्यमा गुणस्तर कायम गर्न, सुरक्षा मापदण्ड र वातावरणीय दिगोपनलाई प्राथमिकतामा राख्दै निर्धारित समयभित्रै काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए।

यस भ्रमण टोलीमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अध्यक्ष घनश्याम प्रसाद, भारत सरकारको ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव दिवाकरनाथ मिश्र, सहसचिव पङ्कज कुमार, एसजेभीएनका निर्देशक (आयोजना) राजेशकुमार चान्देल तथा भारतीय दूतावास र ऊर्जा मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीले आयोजनाअन्तर्गत भइरहेका निर्माण प्याकेज, पुनर्स्थापना तथा पुनर्वास कार्यक्रम, सामुदायिक विकासका गतिविधि र वातावरणीय व्यवस्थापनका विषयमा प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया