काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली भाषा, कला, साहित्य र लोकसङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय गायिका अमृता लुङ्गेली मगर ले आफ्नो नयाँ लोकदोहोरी गीत ‘बनमा लसुन’ सार्वजनिक गरेकी छन्। चर्चित गायक राजु परियार र अमृता लुङ्गेली मगरको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताको राम्रो ध्यान आकर्षित गर्न थालेको छ।गीतमा लोकप्रिय सर्जक सरोज बिरही कार्की को शब्द, संगीत तथा एरेन्ज रहेको छ। मौलिक नेपाली लोकभाका, प्रेमभाव र ग्रामीण परिवेशलाई समेटेर तयार पारिएको गीतले लोकदोहोरी पारखीको मन जित्ने विश्वास गरिएको छ।गीतको मिक्सिङ तथा मास्टरिङ कृष्ण लामिछाने ले गरेका हुन् भने रेकर्डिङ रागा स्टुडियो मा गरिएको हो। अडियो तथा भिडियो Amrita Lungeli Magar Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सिजन बराल ऋषि ले गरेका छन्। भिडियोमा लोकप्रिय कलाकार लोमश शर्मा र रिना थापा मगर को रोमान्टिक तथा जीवन्त अभिनय देख्न सकिन्छ। उनीहरूको उत्कृष्ट केमेस्ट्री, ग्रामीण परिवेशको आकर्षक चित्रण र गीतको भावसँग मेल खाने प्रस्तुतीकरणले भिडियोलाई अझ प्रभावशाली बनाएको छ।भिडियोको छायांकन सन्तोष सुनार ले गरेका हुन् भने सम्पादन प्रीतम पाण्डे ले गरेका छन्। प्राविधिक रूपमा समेत उत्कृष्ट बनाइएको भिडियोले नेपाली लोकसङ्गीतको मौलिक स्वादलाई दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गरेको निर्माण पक्षको विश्वास छ।लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आए पनि गायिका अमृता लुङ्गेली मगर ले नेपाली गीत–सङ्गीत, कला र संस्कृतिप्रतिको आफ्नो समर्पणलाई निरन्तरता दिँदै नयाँ–नयाँ सिर्जनामार्फत प्रवासी नेपाली र स्वदेशी दर्शक–श्रोताबीच सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आएकी छन्।
निर्माण पक्षका अनुसार ‘बनमा लसुन’ ले मनोरञ्जन मात्र होइन, नेपाली लोकसंस्कृति, मौलिक भाका र ग्रामीण जीवनको मिठासलाई पनि उजागर गर्ने प्रयास गरेको छ। गीतलाई दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ।







