पथरी, ११ कात्तिक । पाँचौँ सिरिजंघा वडाध्यक्ष खुला नकआउट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा लेटाङको सुकेचौरी एफसी विजयी भएको छ।
सुकेचौरीले डिफेन्डिङ च्याम्पियन मंगलबारे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित सिरिजङ्घा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुकेचौरीका रोहन गुरुङले निर्णायक गोल गरे। उनले खेलको १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि रोहनको गोल नै सुकेचौरीको जितका लागि निर्णायक बन्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुकेचौरीका प्रवेश बस्नेत म्यान अफ द म्याच घोषित भए। सिरिजंघा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आठवटा फुटबल टोली सहभागी छन्।
प्रतियोगिताअन्तर्गत बिहीबार एलएक्स सिटी एफसी बेलबारी र ताडी स्पोर्टिङ क्लब मिक्लाजुङबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ। कात्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ।





