काठमाडौं, १० असार । खासमा सन २०१६ मा लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भए पछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए ।

खासमा मेस्सी पेनाल्टी सुटआउटमा चुकेपछि अर्जेन्टिना ९ वर्षमा चौथो ठूलो फाइनलमा पराजित हुन पुगेको थियो, जसको पीडा उनले सहन सकेनन् र भनिदिए, ‘म अन्तर्राष्ट्रिय फुटवलवाट सन्यास लिदैँछु।’

र उनले यो पनि भने कि, ‘मेरो लागि राष्ट्रिय टोली सकियो, मैले सक्दो गरेको थिएँ तर देशलाई च्याम्पियन बनाउन नसक्नुको पीडा गहिरो गरी बसेको छ।’

 

तर, अहिले यो कल्पना गर्न गाह्रो छ कि १० वर्ष पछि आफ्नो ३९ औं जन्मदिनको दुई दिन अघि उनले यस्तो काम गरिदिए कि फिफा विश्वकपको ९८ बर्षे इतिहासमा कसैले पनि गरेको थिएन । हो, अझै पनि विश्व च्याम्पियन अर्जेन्टिनाको लागि उनी खेलिरहेका मात्र छैनन्, विश्वकपको सर्वकालीन अग्रणी स्कोरर पनि बनेका छन् ।

 

उनले सोमवार राती गरेको गोलले विश्वकपमा सबैभन्दा बढी गोल हान्ने खेलाडीको रूपमा इतिहास बनायो ।

 

खासमा, त्यो अन्तर्राष्ट्रिय सन्यास उल्टाउने उनको निर्णयले मेस्सी र उनको राष्ट्रको लागि सफलताको गौरवशाली युगको सुरुवात गरेको छ।

 

सन्यास घोषणा फिर्ता पछि उनले पछिल्ला दुई कोपा अमेरिका प्रतियोगिता जितेका छन् भने २०२२ मा मेस्सीले आफ्नो कप्तानीमा विश्वकप उपाधी उचाल्न सफल भए, उनले कतार विश्वकपमा सात गोल गरेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधी चुमेको थियो ।  

 

डिएगो म्याराडोनाले इङ्गल्याण्डमाथि २–१ को क्वार्टरफाइनलको जितमा दुई गोल गरेको ४० वर्षपछि मेस्सीले पनि सोमवार अस्ट्रियाविरुद्ध २–० को जितमा दुवै गोल गर्दै फुटबलमा रेकर्ड बनाउन सफल भए ।

 

‘मलाई मैदानमा खेल्न र राम्रो समय बिताउन मन पर्छ,’ मेस्सीले भने, ‘हामीलाई त्यस्ता मानिसहरूलाई हेर्न पनि रमाइलो लाग्छ, जसले हामीसँग  आनन्द लिन सकिरहेका छन् ।’

 

मेस्सी अब फिफा विश्वकपमा सबै समयका सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । उनले विश्वकपमा अहिलेसम्म १७ गोल गरेका छन्, जर्मीनीका मिरोस्लाभ क्लोसको १६ गोलको रेकर्ड तोडदै । ब्राजिलका रोनाल्डो नाजारियोले विश्वकपमा १५ गोल गरेका छन भने केलियन एमबाप्पे १४ गोलसहित पछि पछि लागिरहेका छन । गर्ड मुलर पनि १४ गोल गरेको रेकर्डसहित टप पाँचमा रहेका छन्।

तपाईको प्रतिक्रिया