गल्याङ/ गल्याङ नगरपालिका को आयोजनामा बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्ने उद्देश्यले चेतनामूलक चलचित्र ‘जुना’ गल्याङ नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा प्रदर्शन गरिने भएको छ। जुना चलचित्रले बालविवाह, महिला हिंसा तथा समाजमा विद्यमान विभिन्न कुरीतिका विषयलाई उठान गर्दै विद्यार्थी, अभिभावक र समुदायमा सचेतना फैलाउने लक्ष्य राखेको छ।चलचित्रका निर्देशक जीवन सेन्चुरी हुन्। चलचित्रमार्फत बालविवाहका कारण हुने सामाजिक, शैक्षिक तथा मनोसामाजिक असरबारे सन्देश प्रवाह गरिने जनाइएको छ।चलचित्रमा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा क्षेत्रगत रूपमा बालविवाहको अवस्था अझै चुनौतीपूर्ण रहेको छ। हिमाली क्षेत्रमा ३३.१ प्रतिशत, पहाडी क्षेत्रमा ३२.६ प्रतिशत र तराई क्षेत्रमा ३६.५ प्रतिशत बालविवाह हुने गरेको उल्लेख गरिएको छ। विद्यालयस्तरबाटै सचेतना अभिवृद्धि गर्दै सामाजिक विकृति र कुरीति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिने यस अभियानले विद्यार्थी तथा समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया