काठमाण्डाै – विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकाको टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।
खेलपछि जापानी दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राखेका थिए । उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् । जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको ठाउँ सफा राख्न सिकाइने उल्लेख गर्नुभयो ।
जापान लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ । खेलपछि अमेरकी खेलाडी जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।
जापानी समर्थक फुटो हागिवाराले आफ्ना देशवासीहरूको व्यवहारले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा पहिचान पाएकोमा गर्व व्यक्त गर्नुभयो ।
जापानमा बाल्यकालदेखि नै सरसफाइ शिक्षामा जोड दिइन्छ । विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् । सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफैँ घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि त्यहाँ स्थापित छ ।







