उर्लाबारी, २६ जेठ
मोरङको उर्लाबारी–२ डुम्रेस्थित हरियाली युवा क्लबको आयोजनामा जारी पाँचौँ डुम्रे कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। सोमबार सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलहरूबाट शिशु शिक्षा सदन, उर्लाबारी–९ र न्यु भिजन बोर्डिङ स्कुल उर्लाबारी–८ उपाधि नजिक पुगेका हुन्।
पहिलो सेमिफाइनल: शिशु शिक्षा सदनको सहज जित
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा शिशु शिक्षा सदनले शुभकामना बोर्डिङ स्कुल उर्लाबारी–३ लाई २–० गोल अन्तरले पराजित गर्‍यो। खेलको चौधौँ मिनेटमा प्रतिक जंग थापाले गोल गर्दै शिशु शिक्षालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि तेत्तिसौँ मिनेटमा बेन्जन हाङ लिम्बुले थप एक गोल गर्दै टोलीको जित निश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिशु शिक्षा सदनका सान्चु हाङ लिम्बु ‘प्लेयर अफ द म्याच’ घोषित भएमा छन्।
सुनगाभा बोर्डिङ स्कुल उर्लाबारी–५ र न्यु भिजन बोर्डिङ स्कुल उर्लाबारी–८ बीच भएको दोस्रो सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको बाह्रौ मिनेटमा शाइन श्रेष्ठले गोल गर्दै न्यु भिजनलाई अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा सुनगाभाका पवन तामाङले बराबरी गोल फर्काएका थिए। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा रोमाञ्चक जित निकाल्दै न्यु भिजनले फाइनलको यात्रा तय गर्‍यो। न्यु भिजनका गोलकिपर एरिश कार्की उत्कृष्ट बचाउ गर्दै ‘प्लेयर अफ द म्याच’ चुनिए।
अब प्रतियोगिताको प्रतिष्ठित उपाधिका लागि शिशु शिक्षा सदन उर्लाबारी–९ र न्यु भिजन बोर्डिङ स्कुल उर्लाबारी–८ भिड्नेछन्। प्रतियोगिताभर अपराजित यात्रा कायम राखेका र उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक र खेलप्रेमीहरूका लागि मुख्य आकर्षणको केन्द्र बन्ने आयोजक हरियाली युवा क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया