मोरङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक कोशी प्रदेश अधिवेशन आज मोरङको विराटचोकस्थित जेसिज भवनमा हुँदैछ।

अधिवेशनअन्तर्गत बिहान ९ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। मौसमले साथ दिए निर्धारित समयमै निर्वाचन प्रक्रिया अघि बढ्ने आयोजकको तयारी छ। अधिवेशनमा प्रदेशभरका जिल्ला, क्षेत्र तथा स्थानीय तहबाट चयन भएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ।

रास्वपाका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख अशोक चौधरीका अनुसार कोशी प्रदेश अधिवेशन पार्टीको पहिलो प्रदेशस्तरीय ऐतिहासिक अधिवेशन हो।

अधिवेशनबाट ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ। कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्रीसहित विभिन्न पदमा निर्वाचन हुनेछ। १४ जिल्ला सभापति पदेन सदस्य रहने व्यवस्था छ भने २८ निर्वाचन क्षेत्रबाट २८ जना प्रतिनिधि निर्वाचित हुनेछन्। त्यसैगरी १५ जना समावेशी समूहबाट चयन गरिने र ३ जना मनोनयन गर्न सकिने प्रावधान रहेको छ।

मतदान प्रक्रियामा जिल्ला सचिवालय समितिका सदस्य, क्षेत्रीय समितिका संयोजक तथा दुई–दुई जना उपसंयोजक, नगर तहबाट एक–एक जना प्रतिनिधि, प्रदेश कार्यसमितिका सदस्य, प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा विभागीय सदस्य, पार्टीका संयोजित प्रतिनिधि तथा जिल्ला तहका विभिन्न विभागबाट तीन–तीन जना प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया