सिन्धुली— सिन्धुलीको कमलामाई नगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राखेको घोषणा गरेको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता” भन्ने नारासहित बुधबार आयोजित कार्यक्रममा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तहका रूपमा औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पूर्णखोप सुनिश्चित नगर घोषणा सम्पूर्ण नगरवासीका लागि गौरवको विषय भएको बताए । उनले बालबालिकाको स्वास्थ्य सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै खोप अभियान सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरवासीप्रति आभार व्यक्त गरे ।

उनले घोषणा मात्र अन्तिम उपलब्धि नभई यसको निरन्तरता र दिगोपना कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताए । आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले स्थानीय स्रोत, समुदायको स्वामित्व र जनसहभागिता थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवकोटा, जनस्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक गुजेश्वर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै नगरभित्रका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक खोप सुनिश्चित गर्ने सामूहिक संकल्प व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया