काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी जेठ २४ गते हुने निर्वाचन रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश जारी हुन नसकेपछि संघको चुनावी माहोल एकाएक तातेको छ। अदालतले निर्वाचन प्रक्रिया रोक्न अस्वीकार गरेसँगै निर्धारित कार्यतालिकाअनुसार निर्वाचन हुने लगभग निश्चित बनेको हो।

अदालतको आदेशपछि संघभित्र विभिन्न समूह र व्यवसायीहरू नेतृत्वका लागि खुला रूपमा सक्रिय भएका छन्। अध्यक्षदेखि अन्य पदाधिकारी पदसम्मका आकांक्षीहरूले प्रतिनिधि व्यवस्थापन, उम्मेदवार छनोट र चुनावी रणनीति निर्माणलाई तीव्रता दिएका छन्। काठमाडौंमा दैनिकजसो समूहगत छलफल, भेटघाट र आन्तरिक तयारीका कार्यक्रम भइरहेका छन्।

संघका वर्तमान अध्यक्ष भुवनसिंह गुरुङले आफू पितृशोकमा रहेका बेला केही समूह र जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिलेमतोमा नेतृत्व परिवर्तन गर्ने प्रयास भएको आरोप लगाएका छन्। यद्यपि अदालतबाट निर्वाचन प्रक्रिया अघि बढ्ने संकेत पाएपछि गुरुङ पक्ष पनि अब निर्वाचन केन्द्रित बनेको छ।

गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै पछिल्लो घटनाक्रम, आफ्नो कार्यकालमा भएका काम, व्यवसायीका समस्या र आगामी निर्वाचनबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। उनी स्वयं अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिने विषय खुलिसकेको छैन। तर आफ्नो समूह र समर्थित उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने तयारीमा रहेको स्रोतको दाबी छ।

यसपटक अध्यक्ष पदका लागि विभिन्न समूहबाट बलिया दाबेदार देखिएका छन्। नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। न्यौपानेले संस्थागत निर्णय भए आफू उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन्।

एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’, महासचिव मिलन कट्टेल र मुक्ति अधिकारीमध्ये एक जनालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भइरहेको छ। तीनै जना संघको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यवसायी हुन्।

त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री पनि अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिएका छन्। पछिल्लो समय एकता समितिले विभिन्न व्यवसायीबीच समन्वय र संवाद बढाउँदै चुनावी रणनीति अघि बढाइरहेको छ।

यसैबीच स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले पहिलो पटक संघको निर्वाचनमा पूर्ण रूपमा सहभागी हुने घोषणा गरेको छ। समूहका अध्यक्ष कृष्णप्रसाद ढकालले अध्यक्षसहित १७ वटै पदमा उम्मेदवार उठाउने घोषणा गरेपछि चुनावी समीकरण थप रोचक बनेको छ। स्वतन्त्र समूहको सक्रियताले परम्परागत शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

संघको निर्वाचनमा यसअघि लोकतान्त्रिक एसोसिएसन, प्रगतिशील मञ्च, गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। तर यसपटक नयाँ समूहहरूको सक्रियता र विभिन्न पक्षबीचको आन्तरिक समीकरणका कारण चुनाव थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

उच्च अदालतको आदेशपछि निर्वाचन व्यवस्थापन समितिले पनि तयारीलाई तीव्रता दिएको छ। प्रतिनिधि छनोट, मतदाता व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको समितिले जनाएको छ।

संघभित्र वैधानिकता, नेतृत्व र प्रक्रियासम्बन्धी विवाद जारी रहे पनि अधिकांश व्यवसायी भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरी संस्थालाई निकास दिनुपर्ने पक्षमा छन्। व्यवसायीहरूका अनुसार आगामी निर्वाचनले संघको नेतृत्व मात्र होइन, वैदेशिक रोजगार क्षेत्रका साझा एजेन्डा, नीतिगत बहस र भावी दिशा समेत निर्धारण गर्नेछ।

यस कारण जेठ २४ गते हुने निर्वाचनलाई संघको इतिहासकै महत्वपूर्ण र बहुप्रतीक्षित निर्वाचनका रूपमा हेरिएको छ। अदालतको आदेशपछि अब संघभित्रको प्रतिस्पर्धा थप खुला र रोचक बनेको छ भने नेतृत्वको दौडमा रहेका व्यवसायीहरू चुनावी मैदानमा पूर्ण रूपमा होमिएका छन्।

तपाईको प्रतिक्रिया