उर्लाबारी । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा मोरङको रतुवामाईबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाका ३७ वर्षीय उद्धव पाठक रहेका छन्। उनले दाम्राभिट्टामा ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले पाठकसँगै म्यानपावरमा लेखापालका रूपमा कार्यरत रतुवामाई–९ का २१ वर्षीय अभि भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतबाट ६ दिनको म्याद थप गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पाठक लामो समयदेखि फरार रहेका थिए। उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा काठमाडौंमा समेत किटानी जाहेरी दर्ता भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानले पाठकले विदेशबाटै आफ्नो नेटवर्क सञ्चालन गर्दै आएको देखाएको छ। उनी केही समयअघि रोमानियाबाट नेपाल फर्किएको र काठमाडौंमा बस्दै आएका थिए। विशेष सूचनाका आधारमा प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा पाठकले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई आकर्षक तलब र सुरक्षित रोजगारीको प्रलोभन देखाएर एक लाखदेखि चार लाख रुपैयाँसम्म असुलेको खुलेको छ। हालसम्म सय जनाभन्दा बढी व्यक्ति ठगीमा परेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार पीडितहरूबाट उठाइएको रकम म्यानपावरका लेखापाल अभि भण्डारीको बैंक खातामा जम्मा गराइने गरिएको थियो। रकम संकलन गरेपछि न त भिसा प्रक्रिया पूरा गरिन्थ्यो, न विदेश पठाउने कुनै ठोस पहल नै गरिन्थ्यो। ३–४ वर्षअघि रकम बुझाएका धेरै पीडितहरू अहिलेसम्म विदेश जान नपाएपछि प्रहरीमा उजुरी दिन पुगेका हुन्।
नारायणप्रसाद भट्टराई, पदमबहादुर खुलाल र पुनम नेपाललगायतले पाठकविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीका अनुसार पीडितहरूको संख्या र कुल ठगी रकमको यकिन विवरण संकलन भइरहेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा ठगीको दायरा अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।







