मिक्लाजुङ । मोरङको विश्व वातावरण दिवस २०२६ को अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी क्षेत्रमा ‘ट्र्यास म्याराथन’ (फोहोर संकलन म्याराथन प्रतियोगिता), पदयात्रा, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
ग्रीन सोसल वर्क नेपाल तथा पूर्वाञ्चल ल क्याम्पसमा बीएसडब्लुए (BSW) अध्ययनरत विद्यार्थीहरूको समूहको आयोजनामा आज शुक्रबार बिहानदेखि ट्र्यास म्याराथन सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा युवामा वातावरणीय चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमका संयोजक प्रविण खतिवडाका अनुसार प्रतियोगितामा सहभागीहरूलाई टिसर्ट, प्रमाणपत्र, खानेपानी तथा खानाको निःशुल्क व्यवस्था गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीमध्ये प्रथम हुनेलाई ५ हजार रुपैयाँ, द्वितीयलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन ३०० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।
“प्राकृतिक सम्पदाको संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि सबै नागरिकको सहभागिता आवश्यक छ,” संयोजक खतिवडाले भने, “यस अभियानमा वातावरणप्रेमी सम्पूर्ण नागरिकलाई सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गर्दछौं।”
यसैबीच, विश्व वातावरण दिवसकै अवसरमा मिक्लाजुङ क्षेत्रमा पदयात्रा, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिने भएको छ। सब डिभिजन वन कार्यालय मधुमल्लाका प्रमुख रमेश मगरका अनुसार कुइनेटारदेखि चुलीपोखरीसम्म पदयात्रा तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा मिक्लाजुङका नौवटा सामुदायिक वनका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको सहभागिता रहने जनाइएको छ। हरित सामाजिक कार्य नेपाल विराटनगरको आयोजनामा हुने उक्त कार्यक्रममा फोहोरमैला व्यवस्थापन तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्र्यास म्याराथन समेत सञ्चालन गरिने प्रमुख मगरले जानकारी दिए।
कुइनेटार र चुलीपोखरी क्षेत्रमा वातावरणीय सौन्दर्य अभिवृद्धिका लागि वृक्षारोपण कार्यक्रम पनि गरिनेछ। कार्यक्रममार्फत प्राकृतिक सम्पदाको संरक्षण, पर्यावरणीय चेतना विस्तार तथा पर्यटकीय क्षेत्रको स्वच्छता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
चुलीपोखरी क्षेत्रको सौन्दर्य संरक्षणसँगै स्वच्छ वातावरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले स्थानीयस्तरमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिने बताइएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता सहित विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ।







