झापा : काठमाडौँमा समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढेसँगै झापामा पनि बचत फिर्ताको माग तीव्र बन्न थालेको छ। बचत रकम फिर्ता नपाएका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दर्ता गर्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्ला दिनमा विभिन्न सहकारी संस्थाका बचतकर्ताबाट रकम फिर्ता गराइदिन माग गर्दै निवेदन पर्न थालेका छन्। केही दिनअघि बिर्तामोडस्थित महिला जनजागरण सहकारी संस्थाका बचतकर्ताले प्रशासनमा निवेदन दिएका थिए। त्यसपछि बुद्धशान्ति गाउँपालिकामा सञ्चालित जयपुर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले पनि आफ्नो बचत सुरक्षित गराइदिन माग गर्दै प्रशासनको ढोका ढकढक्याएका छन्।
यसैबीच, बिर्तामोडकै अर्को एक सहकारी संस्थाका पाँच जना बचतकर्ताले समेत आफूहरूले जम्मा गरेको रकम फिर्ता दिलाइदिन आग्रह गरेका छन्। निवेदन दिनेहरूमा समस्याग्रस्त घोषित सहकारीका मात्र होइन, नियमित सञ्चालनमा रहेका तर बचत फिर्ता गर्न नसकेका सहकारीका सदस्यसमेत रहेका छन्।
झापामा पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रको संकट गहिरिँदै गएको छ। विशेषगरी बिर्तामोड क्षेत्रमा आधा दर्जनभन्दा बढी सहकारी संस्था आर्थिक समस्यामा परेका छन्। जिल्लाका धेरै सहकारीले बचतकर्ताको मागअनुसार रकम फिर्ता गर्न नसक्दा सर्वसाधारण चिन्तित बनेका छन्।
जिल्ला सहकारी संघ झापाका अनुसार बचत फिर्ताको माग गर्दै प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा समेत उजुरीको संख्या बढिरहेको छ। सहकारीप्रति सर्वसाधारणको विश्वास कमजोर बन्दै जाँदा नियामक निकायमाथि प्रभावकारी हस्तक्षेपको दबाब पनि बढेको छ।







