विराटनगर : मोरङको रतुवामाई नगरपालिका–९ ठकठकेमा गोठमा आगलागी हुँदा एक वृद्ध गम्भीर घाइते भएका छन् भने पशुचौपायाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे ७५ वर्षीय मीनानाथ भट्टराईको गाईगोरु बाँध्ने गोठमा आगलागी भएको हो। आगो नियन्त्रणमा लिने प्रयासका क्रममा भट्टराईको शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएका छन्।
घाइते भट्टराईको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार गोठभित्र रहेको चुलोमा पशुका लागि खोले पकाउने क्रममा आगो सल्किएको देखिएको प्रहरीले जनाएको छ। आगो तीव्र रूपमा फैलिएपछि टिनको छानो र इँटाको गाह्रो रहेको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा एक बाछा र एक खसी जलेर मरेका छन् भने एउटा माउ गाईको पछाडिको भागमा चोट पुगेको छ। गोठसँगै राखिएको परालको कुनिउसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







