विराटनगर/ मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मैथिली विकास अभियान ले विराटनगरमा भव्य मैथिली लोकगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष नविन कर्ण ले जेठ ३० गते विराटनगरस्थित आरोहण गुरुकुल मा ‘लोकनादः मैथिली लोकगीत प्रतियोगिता’ को फाइनल हुने जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि जेठ २३ गते अडिसन सञ्चालन गरिनेछ । अडिसनबाट उत्कृष्ट १२ समूह छनोट गरी फाइनलमा भिडाइने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सामाजिक सञ्जाल टिकटकमार्फत उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पनि ५/५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।
अध्यक्ष कर्णका अनुसार मैथिली लोकसंस्कृतिलाई नयाँ पुस्तामाझ जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा पंकज बर्मा लगायतको उपस्थिति रहेको थियो ।







