जेठ २०, सोलुखुम्बु ।
सब डिभिजन वन कार्यालय सोलुखुम्बुले वन व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा आगलागी व्यवस्थापनसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा बढ्दो वन्यजन्तुको जोखिम, आगलागीका घटना तथा नियन्त्रणका लागि आवश्यक स्रोत–साधनको अभावबारे व्यापक छलफल गरिएको थियो । सहभागीहरूले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
जनप्रतिनिधिहरूले विशेषगरी भालु र चितुवाजस्ता वन्यजन्तुका कारण स्थानीय बासिन्दा त्रसित बन्न थालेको उल्लेख गर्दै नियन्त्रण तथा उद्धारका लागि पर्याप्त स्रोत–साधनको व्यवस्था गर्न माग गरेका थिए । सुरक्षाकर्मीहरूले पनि वन्यजन्तु नियन्त्रण तथा आगलागी व्यवस्थापनमा आवश्यक उपकरणको अभाव हुँदा कार्यसम्पादनमा समस्या भइरहेको बताएका थिए ।
सञ्चारकर्मीहरूले आगलागीका घटनामा संलग्न व्यक्तिहरूमाथि प्रभावकारी अनुसन्धान तथा कानुनी कारबाही हुन नसक्दा यस्ता घटना दोहोरिने गरेको धारणा राखेका थिए । उनीहरूले कानुनी कार्यान्वयनलाई थप कडाइका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा उठाइएका समस्या, सुझाव तथा मागहरू सम्बन्धित मन्त्रालयसम्म पुर्याइने प्रतिबद्धता डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले जनाएका छन् ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नं. २ का अध्यक्ष ङवाङ ठिले शेर्पा, वडा नं. ४ का अध्यक्ष युवास तामाङ, वडा नं. ३ का अध्यक्ष लाक्पा गेलु शेर्पा, वडा नं. ७ का कार्यवाहक अध्यक्ष भलाकाजी कार्की तथा डिभिजन वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख मनोज कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।







