नगेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ २० गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा मङ्लवार राति डाँका समुहको कुटपिट र गोली प्रहारबाट दम्पत्ती घाइते भएका छन् ।
जिल्लाको सोनमा गाउँपालिका वडानं. ३ खखनामा मङलवार राति डाँका समुहको प्रतिकारमा रामेश्वर यादव भन्ने २७ वर्षीय ईश्वरनारायण यादव तथा उनकी पत्नी २२ वर्षीया किरण यादव घाइते भएका हुन् ।
जिल्लाको पिपरा गाउपालिका वडानं. २ अतरार घर भई ससुरा रामविश्वास यादवको घरमा श्रीमतीसंगै बस्दै आएका यादव सम्सी गाउपालिकामा जनस्वास्थ्य अधिकृत सातौ पदमा कार्यरत रहेका छन् । ससुराहरु जनकपुरमा वस्दै आएकोले घरमा श्रीमान र श्रीमती मात्रै बस्ने गरेको जनाइएको छ ।
घाइते भई जनकपुरमा उपचाररत यादवले अनुहार छोपेर घर भित्र प्रवेश गरेका ६/७ जनाको डाँका समुहले एक्कासी आफ्नो आँखा, हात, खुट्टा बाँधेर निर्धात कुटपिट गरेको र पछि गोली चलाएर घाइते बनाएको बताउनुभयो ।
एक्कासी कुटपिट गरिरहेका डाँकाहरुले मैथिली भाषामै गोली हानिदिन्छु धम्की दिदै गोली चलाएर घाइते बनाएको वताउनुहुदै यादवले भन्नुभयो,‘श्रीमानलाई कुटपिट नगर्नुस भन्दा श्रीमती किरणलाई पनि कपाल तानेर लछाडपछाड गरेको र भाग्न खोज्दा उनीमाथि पनि गोली चलाएको थियो ।’
यादवको कुम र व्युटी बोर्नको बीचमा तथा उनकी श्रीमती किरणको घुँडामा गोली लागेको छ । गोली प्रहार गरेर पनि उनीहरुले आफुहरुलाई कुटि नै रहेको वताउनुहुदै उहाँले उनीहरुको उद्देश्य डकैतीभन्दा पनि बढी ज्यान मार्ने देखिएको बताउनुभयो ।
गोलीको आवाज चलेपछि स्थानीयहरु जागा भएपछि डाँकाहरु भागेको र पछि स्थानीयहरुले आफुहरुलाई उद्धार गरि राती नै रामगोपालपुर नगरपालिका वडानं. ९ मा रहेको जानकी एकेडेमिक अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको जानकारी दिनुभयो । अहिले दुवैजनाको अवस्था स्थिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक पन्चलाल गोलेले डाँका गर्ने उद्देश्यले घरभित्र छिरेका समुहले प्रतिकारमा दम्पत्तिलाई घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुहुदै थप जानकारी जुटाउने प्रयास गरिरहेको बताउनुभयो ।
घरमा सामानहरु छरपस्ट अवस्थामा छन्, घाईते दम्पतीको तिलहरी, हनुमानी लगायतका सामानहरु लुटिएको र दराज लगायतका विभिन्न बाकसहरु समेत फुटाइएको अवस्थामा रहेकोले डाँका गर्ने उद्देश्य हुन सक्ने प्रवक्ता गोलेले बताउनुभयो । उहाँले घटनास्थल पुगेर अवलोकन गरि थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
स्थानीयबासीहरुले घटनास्थलबाट झन्डै १ किलोमिटरको दूरीमा रघुनाथपुर प्रहरी चौकी, सम्सी प्रहरी चौकी तथा त्यसको छेउ मै सशस्त्र प्रहरीको क्याम्प रहेको जनाउँदै सुचना पाएर पनि प्रहरी ढिला आएको आरोप लगाएको छ ।







