विराटनगर । मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झालाई नियमविपरीत ‘पिर्के सलामी’ दिएको विषयमा प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

मर्यादा र प्रोटोकल उल्लंघन गर्दै सांसदलाई सलामी दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीलाई लिखित स्पष्टीकरण सोधेको हो । मोरङ क्षेत्र नं.५ बाट निर्वाचित सांसद आशा झा रंगेलीस्थित इलाका प्रहरी कार्यालय पुगेकी थिइन् । सो क्रममा कार्यालय परिसरमा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर उनले प्रहरीको टोलीबाट औपचारिक सलामी ग्रहण गरेकी थिइन् । उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जनप्रतिनिधिको सादगी र प्रहरीको ‘चाकडी’ प्रवृत्ति भन्दै चर्को आलोचना सुरु भएको थियो ।

सामान्यतया प्रहरी नियमावली र प्रोटोकलअनुसार मन्त्री वा सोभन्दा माथिल्लो ओहोदाका व्यक्तिलाई मात्र यस्तो औपचारिक सलामी दिने गरिन्छ । सांसदलाई सलामी दिने कुनै कानुनी प्रावधान नभए पनि इन्स्पेक्टर बोगटीले झालाई सलामीको व्यवस्था मिलाएका थिए ।

विवाद बढेपछि सांसद आशा झाले आफूले सलामी माग नगरेको दाबी गरेकी छन् । ‘म काली मन्दिर दर्शनका क्रममा रंगेली पुगेकी थिएँ । त्यही बेला प्रहरीले आग्रह गरेपछि कार्यालय पुगेकी हुँ’, उनले भनिन्, ‘उहाँहरूले सम्मान दिँदा मैले अपमान गर्न सकिनँ । पाहुनालाई स्वागत गर्ने हाम्रो संस्कार भएकाले मैले सलामी ग्रहण गरेकी हुँ ।’
जिल्ला प्रहरी कार्यालय मोरङले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ । माथिल्लो निकायसँग कुनै समन्वय नगरी र मर्यादाविपरीत सलामीको आयोजना गरेको भन्दै इन्स्पेक्टर बोगटीलाई जवाफदेही बनाउन लागिएको हो ।

‘माथिल्लो तहसँग समन्वय नै नगरी इन्स्पेक्टर साबले सलामी गराउनुभएको देखियो,’जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले भने, ‘प्रोटोकल उल्लंघन भएको विषयमा उहाँलाई लिखित स्पष्टीकरण सोधिएको छ । जवाफ चित्तबुझ्दो नआए थप विभागीय कारबाही हुनेछ ।’

तपाईको प्रतिक्रिया