विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगर–जोगबनी नाकामा बढ्दो अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा काँडेतार जडान गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार जोगबनीस्थित १ नम्बर ढाट नजिक नेपालतर्फको पर्खाल क्षेत्रमा आइतबार काँडे तार लगाइएको हो।

सो क्षेत्रमा रहेको स्वास्थ्य डेस्क पछाडिबाट अवैध रूपमा सामान ओसारपसार हुने गरेको गुनासो बढेपछि घेराबारा गरिएको उनले बताए। उनका अनुसार सो स्थानमा रहेको अग्लो पर्खाल भत्किएपछि तस्करहरूले पोका पारेर सामान ल्याउने तथा पर्खाल चढेर सीमा वारपार गर्ने गतिविधि बढेको थियो। त्यसलाई नियन्त्रण गर्न सीमित क्षेत्रमा फलामे काँडे तार जडान गरिएको हो।

यसैबीच, तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार मात्रै पाँच लाख ४८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। जोगबनी नाका, दरैयाबस्ती तथा अन्य खुला सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएका ती सामान भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ।

बरामद सामानमा कस्मेटिक सामग्री, लत्ताकपडा तथा विभिन्न खाद्यान्न वस्तु रहेका छन्। सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार सीमा क्षेत्रमा तस्करी रोक्ने अभियानअन्तर्गत विराटनगरतर्फ रहेका विभिन्न पर्खाल तथा होटलका करिब ३७ वटा प्वालसमेत बन्द गरिएको छ।

सीमावर्ती क्षेत्रमा अवैध आयात तथा तस्करीका गतिविधि बढ्दै गएपछि सुरक्षा निगरानी थप कडा बनाइएको र आगामी दिनमा पनि यस्ता नियन्त्रणात्मक उपायलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया