सोलुखुम्बुः विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित हुनु भएको छ । संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गर्नुभएको हो । ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुनुहुन्छ ।
सम्मान कार्यक्रममा शेर्पाले हिमाल आरोहण आफूलाई नौलो विषय नभएको बताउनुभयो । सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औं पटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको उहाँले जानकारी दिनुभयो ।
३७ वर्षीय शेर्पा पछिल्लोपटक जेठ १३ गते बिहान ५ः४० बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । उहाले सगरमाथाको चुचुरोमा संसद सचिवालयको झण्डा र लोगो पुरयाउनुभएको थियो । उहाँले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउनुभएको थियो ।







