काठमाडौँ – विपक्ष दल एमालेले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री साहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि अभिव्यक्ति दिएको भए त्यो गम्भिर विषय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।
सांसद ठगुन्नाले उक्त अभिव्यक्ति भूलबश भएको भए क्षमायाचना मागेर अघि बढ्न पनि प्रधानमन्त्री शाहलाई आग्रह गरे।
ठगुन्नाले भने, ‘हाम्रो देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो । यो गम्भिर आपत्तिजनक विषय छ । देशहित विपरित छ । सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने विषय छ । यदि यो भूलबस अन्जानमा टङगस्लिप भएर भएर भएको हो भने यसलाई धेरै लामो लैजानु हुँदैन । यसले देशलाई ठूलो क्षति पु¥याईरहेको छ। यदि नियतवश यस्तो कुरा गर्नु भएको हो भने यो गम्भिर आपत्तिजनक विषय हो । यो विषयमा उहाँले राजीनामा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’
सांसद ठगुन्नाले प्रधानमन्त्रीले जनताको अगाडि गल्ती भए स्विकार गर्दै अघि बढनु सबैभन्दा उपयुक्त हुने धारणा राखे।







