बाँके। नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट पाँच करोडको क्षति भएको छ।
शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिए। उनका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए। उनका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो। आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको छ।







