सोलुखुम्बुः विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा नयाँ इतिहास रचिएको छ । पर्यटन विभागका अनुसार यस सिजनमा कुल १ हजार ८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघि सगरमाथामा एकै सिजनमा करिब ९ सय जनाले मात्र सफल आरोहण गरेको रेकर्ड रहेको थियो।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यसपटक सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम भएको जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि दिइएको अनुमति संख्या, संकलन भएको सलामी दस्तुर तथा आरोहण दलको सहभागिताका हिसाबले समेत अभूतपूर्व रेकर्ड बनेको छ। विभागले यस सिजनका लागि ४ सय ९६ जनालाई सगरमाथा आरोहणको अनुमति जारी गरेको उहाँले बताउनुभयो।

सगरमाथाको आधार शिविरमा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले शुक्रबार बिहानसम्म १ हजार ८ जनाले सफलतापूर्वक शिखरमा पाइला टेकिसकेको पुष्टि गर्नुभयो। उहाँले यस वर्षको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत सगरमाथामा आरोहीहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको उल्लेख गर्नुभयो।
यस वर्षको आरोहणबाट राज्यलाई ठुलो आर्थिक योगदान समेत पुगेको विभागले जनाएको छ। महानिर्देशक लामिछानेका अनुसार सगरमाथा आरोहणबापत मात्रै यसपटक करिब १ अर्ब ८ करोड रुपैयाँ सलामी दस्तुर (रोयल्टी) संकलन भएको छ। यस ऐतिहासिक सफलताले नेपाली पर्वतीय पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको विभागको भनाइ छ ।

तपाईको प्रतिक्रिया