साहारा लिम्बु, ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । गाउँपालिकाको खेलाडी एवं व्यवस्थापन टोलीलाई सम्मान गरेको हो ।

पूर्व राष्ट्रिय भलिबल खेलाडी कृष्ण चोङबाङकी स्वर्गीय आमा बुद्धरानी चोङबाङको स्मृतिमा आयोजित प्रथम बुद्ध रानी चोङबाङ स्मृति महिला भलिबल प्रतियोगितामा मेरिङदेन गाउँपालिकाले उपाधि चुमेको हो । गत जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथर तीन तथा ताप्लेजुङका तीन गरी छ टिमको सहभागिता रहेको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको फाइनल खेलमा मेरिङदेनले फिदिम नगरपालिकालाई सोझो ९३–०० सेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । खेल मेरिङदेन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा सञ्चालन भएको थियो ।

प्रतियोगिताको उपाधि सँगै मेरिङदेन गाउँपालिकाले नगद ६१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिम नगरपालिकाले नगद ४१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

तपाईको प्रतिक्रिया