पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण तथा न्यूनीकरणका लागि सञ्चार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवनले समाज, परिवार र स्वास्थ्य क्षेत्रमा पार्ने नकारात्मक प्रभावबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय जनतालाई सचेत गराउने उद्देश्यसहित विभिन्न प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रम नगरप्रमुख मोहन प्रसाद तुम्बापो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्बापोले मदिरा तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले सामाजिक विकृति, पारिवारिक समस्या तथा स्वास्थ्य जोखिम बढाइरहेको बताए । उनले यसको नियन्त्रणका लागि दीर्घकालीन योजना, प्रभावकारी नियमन नीति तथा जनचेतनामूलक अभियान आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रशासक योगराज घिमिरे, ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भिम राई, जनस्वास्थ्य अधिकृत जगत मगर तथा राजस्व अधिकृत तारा प्रसाद ढकालले सहजीकरण गरे । उनीहरूले मदिरा तथा सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्यमा पर्ने असर, सामाजिक चुनौती तथा यसको न्यूनीकरणका उपायबारे जानकारीमूलक प्रस्तुति दिएका थिए ।
जनस्वास्थ्य निरीक्षक एकराज खत्रीले सञ्चालन गरेको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, बालबालिका तथा विभिन्न संघसंस्थामा आबद्ध पदाधिकारी एवं स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । स्थानीय तहले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो ।
मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पथरी शनिश्चरेमा सञ्चार सचेतना कार्यक्रम सम्पन्न







