विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक सडकमा मकै सुकाउने कार्यविरुद्ध कडाइ सुरु गरेको छ । दुर्घटनाको जोखिम बढेको तथा सडक आवागमन प्रभावित भएको भन्दै महानगरले जतुवास्थित धरमबाँध रोडमा सडकभरि सुकाइएका मकै सोमबार हटाएको हो ।

महानगरपालिकाले आइतबार नै माइकिङ गरेर सडकमा सुकाइएका मकै हटाउन तथा सडकभन्दा भित्र सुरक्षित स्थानमा त्रिपाल ओछ्याएर व्यवस्थापन गर्न स्थानीयलाई आग्रह गरेको थियो । तर सूचनापछि पनि सडक खाली नगरिएपछि महानगर प्रहरी आफैँ परिचालन भएर मकै हटाउन बाध्य भएको जनाएको छ ।

नगर प्रहरी प्रमुख राजन पौडेलले सार्वजनिक सडकमा कृषि उत्पादन सुकाउँदा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको बताए । उनका अनुसार मोटरसाइकल तथा साइकल चालक विशेष गरी चिप्लिने, अनियन्त्रित हुने र रातिको समयमा दुर्घटनामा पर्ने सम्भावना बढेकाले तत्काल हस्तक्षेप गरिएको हो ।

‘सार्वजनिक सडक सबै नागरिकको साझा सम्पत्ति हो । सडकलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दा आवागमनमा अवरोध मात्रै होइन, मानवीय क्षतिको जोखिम पनि बढ्छ,’ पौडेलले भने ।

स्थानीयवासीले भने पर्याप्त खुला स्थानको अभाव तथा लगातारको वर्षापछि मकै सुकाउन समस्या भएको बताएका छन् । किसानहरूले उत्पादन जोगाउन सडक प्रयोग गर्नुपरेको गुनासो गरे पनि महानगरले सार्वजनिक सुरक्षामा सम्झौता गर्न नसकिने स्पष्ट पारेको छ ।

महानगरपालिकाले पछिल्लो समय सडक अतिक्रमण, अव्यवस्थित पार्किङ, निर्माण सामग्री थुपार्ने तथा कृषि उपज सुकाउने गतिविधिविरुद्ध अनुगमन तीव्र बनाएको छ । मुख्य बजार तथा सहरी सडक क्षेत्रमा यस्ता गतिविधिले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको महानगरको भनाइ छ ।

विशेषगरी ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा कृषि उपज ल्याएर सडक किनारमै सुकाउने चलन बढ्दै जाँदा दुर्घटनाका घटना पनि बढ्न थालेको ट्राफिक प्रहरीको निष्कर्ष छ । केही दिनअघि मात्रै पूर्वी क्षेत्रका विभिन्न सडकमा धान र मकै सुकाइएका कारण सवारी चिप्लिने तथा मोटरसाइकल दुर्घटनाका घटना सार्वजनिक भएका थिए ।

महानगरले आगामी दिनमा पनि सार्वजनिक सडक अतिक्रमण तथा जोखिमपूर्ण गतिविधि नियन्त्रणका लागि निरन्तर अनुगमन गरिने जनाएको छ । अटेर गर्नेविरुद्ध स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया