धनकुटा : धनकुटामा सञ्चालन भइरहेको १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लब प्रवेश गरेको छ। शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराउँदै बिर्तामोडले अन्तिम चारको यात्रा तय गरेको हो।

सदरमुकामस्थित तल्लो टुँडिखेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बिर्तामोडका कप्तान आशिष चापागाईं र प्रदीप बुढाथोकी नायक बने। पहिलो हाफमा प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा कप्तान चापागाईंले दुई गोल थप्दै बिर्तामोडको जितलाई सहज बनाए।

गाईघाट युनाइटेडका तर्फबाट सुनिल खड्काले एक गोल फर्काएर खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। सुनिलको गोलपछि आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि तेस्रो गोल समेत गरेपछि बिर्तामोडको जित सुनिश्चित भएको थियो।

उत्कृष्ट खेल प्रदर्शन गरेका बिर्तामोड युनाइटेडका कप्तान आशिष चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप नगद ६ हजार ५ रुपैयाँ प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक धनकुटा फुटबल क्लब र भारतको कालिम्पोङस्थित जर्जियन फुटबल क्लबबीच क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया