सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रमुख प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकी र जिल्लास्थित सञ्चारकर्मीबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी र सञ्चार क्षेत्रबीचको समन्वय, सूचना प्रवाह तथा जिल्लाको शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रहरी नायव उपरीक्षक बुढाथोकीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताउँदै तथ्यमा आधारित समाचार सम्प्रेषणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले प्रहरी–पत्रकारबीचको सहकार्यले नागरिकसम्म सही र विश्वसनीय सूचना प्रवाह गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
रेडियो एभरेस्टका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जिल्लामा देखिएका विभिन्न समस्या समाधानका लागि प्रहरी र पत्रकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय मुद्दा तथा नागरिकका गुनासालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन सञ्चारमाध्यम र प्रहरी दुवैले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाका विभिन्न समस्या, सूचना प्रवाहमा देखिएका चुनौती तथा स्थानीय तहमा भइरहेका गतिविधिबारे प्रहरीलाई जानकारी गराएका थिए । उनीहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
अन्तरक्रियामा जिल्लाको सुरक्षा अवस्था, समुदाय–प्रहरी साझेदारी तथा सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले यस्ता कार्यक्रमले प्रहरी र सञ्चार क्षेत्रबीच विश्वास र सहकार्य अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ ।







