श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ १० गते तद्अनुसार सन् २०२६ मे २४ तारिख आइतबार अधिक ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि मघा नक्षत्र ७ः८ पर पूर्वाफाल्गुणी नक्षत्र व्यतिपात योग बालव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – शुभदायी दिन छ । मित्रजन तथा सहयोगीहरूले काममा साथ दिने र प्रशंसकहरू बढ्ने समय हुनाले राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि राम्रै धनलाभ होला । यात्रामा पनि लाभ मिल्ने देखिन्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । स्वास्थ्य सबल रहला । नयाँ काममा हात हाल्न सकिने देखिन्छ ।
वृष – ब्यस्तता र जोखिम केही बढेपनि तपाईंले अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको भरण-पोषणमा खर्च वृद्धि हुने देखिन्छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि ज्यादा नै प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । संयमता र विवेकको बलबाट समस्याबाट उम्कन सकिनेछ ।
मिथुन – आजको दिन केही कठिनाइयुक्त रहने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने योग छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ ।
कर्कट – समय केही चुनौतीयुक्त छ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, इष्टदेवको पूजा तथा उपासना गर्नाले लाभ मिल्ला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
सिंह – नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । तर, मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।
कन्या – पारिवारिक जमघटमा मन रमाउने समय भएपनि विगतका समस्या बल्झिन सक्छन् । आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ । धार्मिक यात्राको सम्भावना छ ।
तुला – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्ने समय छ । धेरै श्रमका बाबजुद कममात्र प्रतिफल पाइने देखिन्छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् ।
वृश्चिक – बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । स्वास्थ्य सबल रहला । काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्नेछ । व्यापारिक कर्ममा भने आज कमैमात्र फाइदा हुने योग छ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ ।
धनु – आजको दिन बुद्धिविवेकले राम्रो काम गर्नेछ भने मित्र एवम् आफन्तहरूबाट साथ–समर्थन पनि पाइएला । अनायासै ठिक निर्णय हुने र कामहरु सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने देखिन्छ । कठोर परिश्रमले अधुरा काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ ।
मकर – केही बाध्यताको काममा जुट्नुपरे पनि दिन उत्साहजनक नै रहनेछ । राम्रै आम्दानी हुने प्रकारको व्यावसायिक यात्रा हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने देखिन्छ । प्रतिस्पर्धी परास्त होलान् । कृषिकर्म र व्यावसायिक काममाचाहिँ केही चुनौतीको सामना गर्नुपर्नेछ, ध्यान राख्नुहोला ।
कुम्भ – आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भइ मन हर्षित हुने समय छ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य आदि सम्पादन हुने योग छ । भाग्योन्नतिको समय हुनाले सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ । धन आर्जन हुने देखिन्छ ।
मीन – प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा प्राप्तिले दिन उत्साहपूर्ण रहला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइएला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।







