विराटनगर । मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सुरु हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा जेठ १० गतेदेखि अभियान औपचारिक रूपमा सुरु गर्न लागिएको हो । विराटनगरमा हुने उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की लगायतको उपस्थिति रहनेछ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अभियानलाई सामाजिक आन्दोलनका रूपमा अघि बढाइनेछ । कार्यक्रममा लागुऔषधको असरबारे डा। अजिता पौडेलले जानकारी दिने तथा पूर्वप्रयोगकर्ताले अनुभव सुनाउनेछन् । ‘अन्धकारबाट उज्यालो’ शीर्षकको नाटकसमेत प्रदर्शन गरिनेछ ।

अभियानअन्तर्गत प्रभातफेरी, जनचेतनामूलक र्‍याली तथा युवालाई लक्षित टिकटक भिडियो प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिने प्रहरीले जनाएको छ ।

मोरङका १७ वटै स्थानीय तहमा विस्तार गरिने अभियानले युवालाई लागुऔषधबाट टाढा राख्ने, उपचार तथा पुनःस्थापनामा सहयोग गर्ने र खेलकुद, योग तथा सिपमूलक कार्यक्रममा सहभागी गराउने लक्ष्य राखेको छ । प्रहरीले लागुऔषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै समाजलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्य लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया