इटहरी : सुनसरी जिल्लामा पछिल्ला वर्षहरूमा जघन्य प्रकृतिका अपराधहरू जनस्वास्थ्य र सामाजिक सुरक्षाकै लागि गम्भीर चुनौतीका रूपमा देखा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई केलाउँदा यहाँ अपराधको ग्राफ तीव्र गतिमा उकालो लागिरहेको भेटिएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मिनासम्म मात्रै जिल्लामा ४४४ वटा जघन्य अपराधका मुद्दा दर्ता भइसकेका छन्, जसले सुनसरीको शान्ति सुरक्षाको अवस्थालाई थप संवेदनशील बनाएको छ।

प्रहरीको तीनवर्षे तुलनात्मक विवरण हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ३४१ वटा जघन्य मुद्दा दर्ता भएकोमा त्यसको भोलिपल्टै अर्थात् आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ह्वात्तै बढेर ५५० पुगेको थियो। चालु आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छँदै ४४४ को सङ्ख्या नाघ्नुले यो वर्ष पनि अपराधको चाप उच्च रहने स्पष्ट गरेको छ।

पछिल्लो समय सुनसरी प्रहरीका लागि सबैभन्दा ठुलो टाउको दुखाइ र चुनौतीको विषय लागूऔषध कारोबार तथा प्रयोग बनेको छ। कुल जघन्य अपराधमध्ये आधाभन्दा बढी हिस्सा लागूऔषधकै छ।

विगत दुई वर्षमा क्रमशः २४१ र ४६० मुद्दा दर्ता भएको यस विधामा चालु वर्षको ११ महिनामै ३४६ वटा मुद्दा दर्ता भइसकेका छन्। भारतीय खुला सीमाको फाइदा उठाउँदै हुने अवैध ओसारपसार र सहरी क्षेत्रका युवाहरूमा बढ्दो कुलत यसको मुख्य कारण रहेको देखिन्छ।

लागूऔषध जत्तिकै भयावह रूपमा जबरजस्ती करणी (बलात्कार) का घटनाहरू पनि अगाडि देखिएका छन्। अघिल्ला वर्षहरूमा क्रमशः १०६ र ८१ वटा बलात्कारका मुद्दा दर्ता भएको सुनसरीमा यस वर्षको वैशाखसम्म ७४ वटा मुद्दा दर्ता भइसकेका छन्। महिला र बालबालिकामाथि हुने यस्ता जघन्य हिंसाले सामाजिक असुरक्षा र संवेदनशीलतालाई बढाएको छ।

यद्यपि, समाजलाई आतङ्कित बनाउने कर्तव्य ज्यान (हत्या) जस्ता घटनामा भने प्रहरीले बलियो कानुनी तदारुकता देखाएको छ। चालु वर्ष दर्ता भएका १६ वटा कर्तव्य ज्यान मुद्दा फर्स्योट भइसकेका छन्, जसलाई प्रहरीको अनुसन्धान प्रगतिका रूपमा हेरिएको छ। अर्कोतर्फ, विगतका वर्षहरूमा समाजलाई त्रसित बनाउने डकैती र चोरीका घटनामा भने उल्लेख्य कमी आएको छ।

सुनसरीमा अपराधको स्वरूप र प्रकृति बदकिनुमा खुला सिमानाको फाइदा, तीव्र रूपमा भइरहेको अव्यवस्थित सहरीकरण र युवा पुस्तामा व्याप्त बेरोजगारी मुख्य जिम्मेवार छन्। लागूऔषधको सहज पहुँचले अन्य साना-ठुला अपराधलाई समेत मलजल गरिरहेको उनीहरूको बुझाइ छ।

तपाईको प्रतिक्रिया