ओखलढुङ्गा, जेठ ७ । कोशी प्रदेशका निजी तथा सामुदायिक रेडियोहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चार दिने रेडियो विकास तालिमको तेस्रो दिन बुधबार विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्दै सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) कोशी प्रदेशको सहकार्यमा सञ्चालन भइरहेको तालिममा प्रदेशका १० जिल्लाका ४० वटा रेडियोका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी रहेका छन् ।

तालिमको तेस्रो दिन प्रशिक्षक चेतन धमला, तुला अधिकारी, ज्ञानेन्द्र निरौला र महेन्द्र काफ्लेले रेडियोको वर्तमान अवस्था, डिजिटल युगमा रेडियोको भूमिका, सामग्री उत्पादन, सञ्चारको विश्वसनीयता तथा रेडियो प्रसारणको प्रभावकारिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षकहरूले बदलिँदो सञ्चार प्रविधिसँगै रेडियोलाई समयानुकूल रूपान्तरण गर्दै स्थानीय समुदायसँग अझ प्रभावकारी रूपमा जोडिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले डिजिटल माध्यमको विस्तारसँगै रेडियो क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए ।

तालिममा सोलुखुम्बु, ओखलढुङ्गा, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा, उदयपुर, मोरङ र सुनसरीलगायत जिल्लाका रेडियो सञ्चालकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

रेडियोको महत्व, वर्तमान समयमा यसको उपयोगिता तथा सञ्चार क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा केन्द्रित उक्त तालिम शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया