काठमाडौं। नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिने जग्गा नलिने भएको छ। जग्गाको विषयमा एमालेमा लामो समयदेखि विवाद भइरहेको बेला बिहीबार बसेको बैठकले जग्गा नलिने, फिर्ता दिने र धन्यवाद दिने निर्णय गरेको हो।

गुरुङले कीर्तिपुरमा जग्गा अनुदानमा दिने गरी केही समयअघि एमाले अध्यक्ष दम्पतीसहितले शिल्यान्यास गरेका थिए। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ।

‘कल‌कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती)लाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ।

यसअघि दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए। विरोध गरेका कारण नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेना पार्टी कारबाहीमा परेका थिए।

तपाईको प्रतिक्रिया