पश्चिम नवलपरासी । विपदले मानिसको ओत मात्रै खोस्दैन, जीवनभरको कमाइ र सपना पनि खरानी बनाइदिन्छ । गत वैशाख ८ गते भएको भीषण आगलागीले एउटा सिंगो बस्तीलाई नै शोकमा डुबायो । टाटीले छाएका १२ वटा कच्ची घरहरू हेर्दा हेर्दै खरानी भए, जहाँ करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भयो ।
अहिले बर्खायाम सुरु भइसकेको छ । घर जलेर खरानी भएपछि वर्षात्को समयमा पनि खुला आकाशमुनि बस्न बाध्य पीडित परिवारहरूको कारुणिक अवस्था देख्दा जो कोहीको मन रुन्छ । चिसो भुइँ र झरीको बाछिटा सहेर रात बिताउनु पर्ने उनीहरूको बाध्यतालाई मध्यनजर गर्दै युवा समाजसेवी चौधरीले उदाहरणीय सहयोग गरेका छन् ।
व्यक्तिगत प्रयासमा ओतको सुनिश्चितता
पीडितहरू पालको सहारामा कष्टकर जीवन बिताइरहेको दृश्य देखेपछि चौधरीले तत्कालै सहयोगको हात अगाडि बढाए । उनले आफ्नो व्यक्तिगत खर्चमा प्रति घरधुरी ८ वटा जस्तापाता उपलब्ध गराएका हुन् । आगलागीबाट पीडित १२ परिवार र थप एक स्थानीय विपन्न परिवार गरी कुल १३ घरधुरी यसबाट लाभान्वित भएका छन् ।
“विभिन्न संघ संस्थाहरूले सहयोग गरेपनि स्थलगत निरीक्षणका क्रममा पीडितहरू अझै खुला आकाशमुनि सुत्न बाध्य भएको देखेँ । उनीहरूको अस्थायी आवास निर्माणमा केही सहज होस् भनेर मैले यो व्यक्तिगत प्रयास गरेको हुँ,” समाजसेवी चौधरीले भने ।
बाध्यता हटाउने सारथी : चौरको पढाइदेखि घरको ओतसम्म
समाजसेवा र राजनीतिमा सक्रिय युवा नेता चौधरी प्रतापपुर र सुस्ता क्षेत्रमा ‘समस्या समाधान गर्ने नेता’का रूपमा परिचित छन् । उनको सेवाभाव आजको मात्र होइन । यसअघि पनि यस क्षेत्रका विभिन्न विद्यालयहरूमा कोठा अभावका कारण विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य हुन्थे ।
विद्यार्थीहरूको त्यो कष्ट र बाध्यतालाई अन्त्य गर्न चौधरीले विभिन्न संघ संस्थासँग पहल तथा समन्वय गरी विद्यालय भवन तथा कक्षा कोठा निर्माण गराएका थिए । विद्यालयमा चौरको पढाइ अन्त्य गरेझैँ अहिले अग्निपीडितहरूको खुला आकाशमुनिको बसाइ अन्त्य गर्न उनी अहोरात्र खटिए । यसअघि पनि उनले विपन्न समुदायका लागि घर निर्माण गरिदिने जस्ता प्रशंसनीय कार्य गरेका थिए ।
विपदमा सबैको साथ आवश्यक
राहत सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रमेश बानियाँ, समाजसेवी विनोद ठाकुर, राजेश्वर सिंह चौधरी, नेवास हजाम, आदित्य पाल लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । राहत वितरण गर्दै चौधरीले भने, “विपदको यो घडीमा हामी सबैले पीडितहरूको साथ दिनुपर्छ । उनीहरूको पूर्ण पुनःस्थापनाका लागि अझै थप सहयोगको आवश्यकता छ ।”
आफ्नो सर्वस्व गुमाएर निराश बनेका पीडित परिवारहरूले कठिन परिस्थितिमा जस्तापाता प्राप्त गरेपछि अब बर्खाको पानीबाट बच्न पाइने आशामा ठूलो राहत महसुस गरेका छन् ।







