क्वालालम्पुर, मलेसिया : मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण प्रक्रियाको क्रममा पेस गर्नुपर्ने कागजातको नयाँ सूची सार्वजनिक गरेको छ । नेपाली कामदारहरूको हकअधिकार सुरक्षित गर्न कागजातमा आश्वासन दिएअनुसारको सर्त पालना गरिनुपर्नेमा पनि नेपाली दूतावासले जोड दिएको छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन गर्दा कामदार भर्ना खर्चको भुक्तानीको प्रमाण, नेपाली म्यानपावर कम्पनीलाई तिरेको उडान टिकट र सेवा शुल्कसहितको विवरण पनि निवेदनसाथ पेस गर्नुपर्ने बताएको छ ।
त्यस्तै कम्पनीले नेपाली कामदारहरूको आवासका लागि मलेसिया सरकारले तोकेको कानुनी मापदण्डहरू पूरा गर्दछ भन्ने पुष्टि गर्ने कागजात, तलब र ओभरटाइम भुक्तानी समयमै भइरहेको र तलब कामदारहरूको बैंक खातामा सिधै जम्मा भइरहेको प्रमाण पनि अनिवार्य गरिएको छ ।
त्यस्तै नेपाली कामदारहरूलाई तोकिएका स्थानहरूमा मात्र खटाइएको पुष्टि हुने कागजात, नेपाली कामदारहरूको विवरण, सबै नेपाली कामदारहरूको पूर्ण जानकारी, मलेसिया पुगेको तीन महिनाभित्र बुझाउनुपर्ने प्रतिबद्धता पनि पेस गर्नुपर्ने दूतावासले बताएको छ ।
दूतावासले स्वीकृत डिमाण्डको स्थिति, स्वीकृत डिमाण्डअन्तर्गत नेपाली कामदारहरूको कुल संख्या, मलेसियामा पहिले नै पठाइएको कामदारहरूको संख्याजस्ता विषय पनि पेस गर्नुपर्ने बताएको छ ।







