काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मिति २०८३/०१/३० मा पाण्डेलाई स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलाम बिक्री र सोसँग सम्बन्धित घरभाडा तथा विद्युत् महसुल भुक्तानी नभएको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार, स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रिया प्रचलित ऐन कानुनको अधीनमा रही गरिएको दाबी गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७, सुरक्षित कारोबार ऐन २०६३ र बैंकको कर्जा असूली निर्देशिकाको पूर्ण पालना गर्दै निक्षेपकर्ताको रकम सुरक्षित गर्न यो कारबाही अघि बढाइएको बैंकको भनाइ छ ।

अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात र विवरणहरू बैंकले समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

लिलामी प्रक्रियाका बारेमा थप प्रष्ट पार्दै बैंकले मिति २०८२/०६/०३ मा सूचना प्रकाशित गरी स्मार्ट टेलिकमका उपकरणहरू लिलाम बिक्री गरेको जनाएको छ ।

उक्त लिलामीबाट प्राप्त ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा चुक्तामा उपयोग गरिएको छ । बाँकी रहेको ३८ करोड रुपैयाँ भने बैंकको ‘Earnest Money Auction Account’ मा सुरक्षित राखिएको बैंकले जानकारी दिएको छ ।

उक्त बाँकी ३८ करोड रुपैयाँ स्मार्ट टेलिकमका उपकरण जडान भएका घर-जग्गा धनीहरूको बाँकी बहाल र विद्युत् महसुल भुक्तानी गर्ने प्रयोजनका लागि रोक्का राखिएको बैंकले स्पष्ट पारेको छ ।

सम्बन्धित निकायबाट प्रमाणसहित भुक्तानीको अनुरोध आएपछि सोही अनुसार क्रमिक रूपमा रकम भुक्तानी गरिने बैंकको योजना छ । यस अनुसन्धानले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, र निक्षेपकर्ताको हितमा कुनै असर नपर्ने भन्दै बैंकले आफ्ना ग्राहक र शेयरधनीहरूलाई ढुक्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया