विराटनगर । सामाजिक सेवामा सक्रिय शान्ति युवा क्लबले स्थापना भएको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

क्लबका अध्यक्ष विपुल चौधरीले क्लबले विगत ६ वर्षदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी दिए । उनले कोरोना महामारीका समयमा मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरण गरी असहाय तथा विपन्न परिवारलाई सहयोग गरिएको बताए ।

क्लबले विज्ञान प्रदर्शनी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निःशुल्क ट्युसन कक्षा, विभिन्न खेलकुद प्रतियोगिता, सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा मेडिकल क्याम्प सञ्चालन गर्दै आएको जनाएको छ । साथै “एक घर, एक बिरुवा” अभियानमार्फत वातावरण संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको क्लबले जनाएको छ ।

क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सव मानव सेवा आश्रममा मनाउँदै लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्दै आएको छ । सातौँ वर्ष प्रवेशको अवसरमा केक काटेर कार्यक्रम मनाइएको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेनकुमार मण्डल, सचिव मनिष सरदार, सहसचिव रितेश कुमार देव, कोषाध्यक्ष सन्दीप शर्मा तथा सदस्यहरू सुषमा कुमार यादव, प्रभा चौधरी र अन्जली कुमार रायलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भव्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया