उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उर्लाबारी नगरपालिकाको सभाहलमा केही दिन अगाडि आयोजना गरिएको थियोे ।
वडा सदस्य तथा कार्यपालिका सदस्य कृष्णकुमारी कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप–प्रमुख मीना कुमारी खतिवडा पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरू, महिला विकास समितिका पदाधिकारीहरू, वडा स्तरीय बाल क्लबका प्रतिनिधिहरू तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। साथै वडा नं. ४ की सदस्य अमृता नेपालीको पनि उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनका अवधारणा, यसको व्यवहारिक कार्यान्वयन तथा समुदायस्तरमा आवश्यक प्रतिबद्धताका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले बालअधिकार संरक्षण, बालबालिकाका लागि सुरक्षित तथा समावेशी वातावरण निर्माण र बालमैत्री वडा निर्माणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गर्ने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया