झापा : कचनकवल गाउँपालिकाले निजी स्रोत तथा गाउँपालिकाबाट अनुदानमा कार्यरत ४६ जना शिक्षकहरूको म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णयपछि सामुदायिक विद्यालयहरूलाई पत्राचार गर्दै यस्तो जानकारी गराइएको हो ।

गाउँपालिकाले पूर्वनिर्णयअनुसार अब निजी तथा अनुदानका शिक्षकहरूको करार अवधि थप नगर्ने प्रमुख प्रशासकीय अधिकृत स्कँई पोखरेलले जानकारी दिए ।

नेपाल सरकार, अर्थ मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनको सन्दर्भ उल्लेख गर्दै स्वीकृत दरबन्दीबाहेकका अस्थायी तथा करार कर्मचारी नराख्न भनिएको पोखरेलले बताए ।

गाउँपालिकाले विद्यालयहरूमा विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा विगतमा निजी तथा अनुदान शिक्षकमार्फत पठनपाठन सञ्चालन हुँदै आएको भए पनि अब त्यसलाई निरन्तरता नदिने जनाएको छ ।

यसअघि कार्यपालिकाबाट निर्णय गरी समय–समयमा म्याद थप गर्दै आइएको थियो । पत्रमा मिति २०८२ चैत ३० गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख छ। साथै, मुलुकको समसामयिक अवस्था र नीतिगत व्यवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यस निर्णयले स्थानीय तहमा कार्यरत निजी तथा अनुदान शिक्षकहरू प्रभावित हुने भएका छन्। विद्यालय सञ्चालन र पठनपाठनमा समेत यसको असर पर्न सक्ने भन्दै सरोकारवालाहरूले वैकल्पिक व्यवस्थाको आवश्यकता औँल्याउन थालेका छन्।

तपाईको प्रतिक्रिया