वीरगन्ज : इलेक्ट्रिक स्कुटरकै कारण वीरगन्जमा एकै परिवारको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएको छ ।घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका वडा नम्बर १६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर घाइते बन्न पुगेका हुन्।
बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा विशालसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर घाइते भई आइसीयूमा भर्ना भएका छन् ।
पेट्रोलको बढ्दो मूल्यका कारण खर्च घटाउने उद्देश्यले विशालले वीरगन्जको ड्राइपोर्ट चोकमा रहेको कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको उक्त इलेक्ट्रिक स्कुटी खरिद गरेका थिए । सोही स्कुटीलाई शनिबार राति चार्जमा राखेर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र उक्त घटनामा परिवारका सदस्यहरू घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिए ।
आगलागीमा परी गम्भीर बनेका परिवारका सदस्यहरूलाई वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया बालिकालाई सोही अस्पतालको एनआईसीयूमा राखिएको छ ।
सर्राफका अनुसार पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको स्कुटीले नै परिवारको ज्यान संकटमा पारेको छ । हाल घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा रहेको र त्यसपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए ।
उक्त घटनाबारे बुझ्दा कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार यस प्रकारको घटना पहिलो पटक भएको हो र यसको कारणबारे कम्पनीले पनि अनुसन्धान गर्ने जनाएको छ ।
आगलागीमा पूर्ण रूपमा नष्ट भएको स्कुटीको क्षतिपूर्ति थर्ड पार्टी इन्स्योरेन्सबाट हुने र घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले स्कुटीमा आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएको पुष्टि गरे । उनका अनुसार घरभित्र चार्जमा राखिएको स्कुटीमा आगलागी हुनुको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । यस घटनालाई लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ भने स्कुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाइएको जनाएको छ ।







