काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ मा एक मृतकको नाममा रहेको जग्गामा नक्कली कागजात बनाई हकवालालाई ठगेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगले मालपोत कार्यालय रूपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष राम किशन थारू, तत्कालीन वडा सदस्य बृज नारायण यादव र मृतकका भाइ भनिएका बुद्धिराम कहारविरुद्ध आरोपपत्र दायर गरिएको हो।

वडा नं. २ का बासिन्दा स्वर्गीय बेलर कहारको नाममा कायम रहेको जग्गामा तिनका जायज उत्तराधिकारी छोरी सञ्जु कहारलाई हक नदिई बुद्धिराम कहारलाई मृतकको भाइ भनी फर्जी नाता प्रमाणित, सर्जमीन मुचुल्का र चारकिल्ला प्रमाणितलगायतका कागजात तयार गरी जिल्ला अदालत रूपन्देहीबाट समेत प्रमाणित गराइएको थियो। सोही आधारमा कुल २ बिघा ५ कठ्ठा जग्गा बुद्धिरामको नाममा कायम गर्न सरकारी अभिलेखमा झुट्टा विवरण थपघट र हेरफेर गरिएको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।

आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १९(२) अनुसार कैद र जरिवाना सजाय हुनुपर्ने माग आरोपपत्रमा लिइएको छ। मुख्य लाभग्राही बुद्धिराम कहारविरुद्ध भने सोही ऐनको दफा २२ बमोजिम थप कडा सजायको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया