उर्लाबारी । उर्लाबारी नगरपालिकाले मासु पसल तथा फ्रेश हाउस सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख गंगा प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाबाट जारी “मासु पसल र फ्रेश हाउस सञ्चालन तथा व्यवस्थापन मापदण्ड–२०८२” को प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सरोकारवाला निकाय, व्यवसायी तथा प्राविधिक टोलीबीच मापदण्डको कार्यान्वयन, अनुगमन तथा आवश्यक सुधारका उपायबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा उप–प्रमुख मीना कुमारी खतीवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता, कानुन अधिकृत निर्मल पौडेल तथा पशुपन्छी शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा उप–प्रमुख पौडेलले नगर क्षेत्रमा स्वच्छ, सुरक्षित र मापदण्डअनुसार मासु बिक्री–वितरण सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
नगरपालिकाले उक्त मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।







