काठमाण्डौ – सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । आज महानगरले थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्वासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती परिवारहरू व्यवस्थापनका लागि दर्ता प्रक्रियामा आएका हुन् ।
सम्पर्कमा आएकाहरुलाई सेल्टरमा स्थानान्तरण गर्ने काम भइरहेको छ । थापाथली र गैरीगाउँको कारबाही सकिएलगत्तै महानगरको डोजर मनोहरा र जडीबुटी क्षेत्रतर्फ केन्द्रित हुने महानगर प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रङ्गशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी अस्थायी सेल्टरमा राख्ने काम भइरहेको छ । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै शुरू गर्ने र वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई हप्ताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहारका असिम साहले जानकारी दिनुभयो ।







