काठमाडौँ – रसुवा–नुवाकोट पर्यटन समाजले ‘लाङटाङ ट्रेल रन–२०८३’ आगामी जेठ २३ गते आयोजना गर्ने भएको छ। लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

करिब ३२ किलोमिटर दूरीको यो दौड क्याङ्जिन गुम्बाबाट सुरु भई लाङटाङ गाउँ, घोडातवेला, लामा होटल हुँदै स्याफ्रुबेसीमा समापन हुनेछ। कार्यक्रममा बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा नेपाल पर्यटन बोर्ड र प्रदेश खेलकूद विकास परिषदको सहकार्य रहने आयोजकले जनाएको छ।

कार्यक्रमबारे समाजका अध्यक्ष बलराम न्यौपानेले भने, ‘लाङटाङ क्षेत्र पदयात्रा मात्र नभई साहसिक पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो। यस ट्रेल रनमार्फत हामी यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छौँ। यो प्रतियोगिता दौड मात्र नभई लाङटाङ क्षेत्रको पुनरुत्थान, प्रवर्द्धन र दिगो विकासका लागि अभियान पनि हो।’

यसैगरी समाजका प्रमुख सल्लाहकार दिपक महत ले भने, ‘लाङटाङ ट्रेल रनले स्थानीय पर्यटन, अर्थतन्त्र र युवाहरूको खेलकुद सहभागितालाई एकैसाथ अघि बढाउने महत्वपूर्ण अवसर सिर्जना गर्नेछ। यस्तो कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छौँ।’

प्रतियोगितामा महिला तथा पुरुषतर्फ शीर्ष पाँच विजेतालाई क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र पदक प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीले ५ हजार रुपैयाँ र विदेशी खेलाडीले १०० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।

जेठ १९ देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा ट्रेकिङसहित दौड समावेश गरिएको छ। इच्छुक सहभागीले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया