इनरुवा, चैत २ गते । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।

खुला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीले लागु औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ समेत गरेको र उनीहरूको साथबाट फेला परेको लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

थेवेका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ भन्सार टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प. ५८२१ नम्बरको मोटरसाइकल चालक जिल्लाको दुहवी नगरपालिका वडा नं.–२ का २१ वर्षीय सुशान्त चौधरी र दुहवी १० का २५ वर्षीय मेराज चौधरीको साथबाट ८.११ ग्राम ब्राउन सुगर र एक थान मोटरसाइकल बरामद भएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ ढलान रोडबाट पैदलयात्री मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–७ का ३४ वर्षीय सुरेन्द्र जिमीको साथबाट ६.३९ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

दुई स्थानबाट तीन जनाको साथमा १४ .५० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया