काठमाडौँ, चैत १ गते । गर्मी बढ्दै जाँदा मुलुकभर डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउलासोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको छ । गाउँघर छोडेर सहर बस्ने प्रवृतिले घाँसदाउराको प्रयोगमा कमी आएसँगै वनजङ्गलभित्र सुकेका पात पतिङ्गर, घाँसदाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरकारी अधिकारीले बताएका छन् ।
वन तथा भूसंरक्षण विभागका अनुसार २०७५ सालदेखि हालसम्म डढेलोका दुई हजार १५९ घटना भएका छन् भने ती घटनामा परी ३० जनाको मृत्यु भएको छ । डढेलोमा परी ५५ जना सख्त घाइते भएका छन् भने करिब सात सय परिवार डढेलोका कारण विस्थापित तथा प्रभावित भएका छन् ।
विभागले दिएको तथ्याङ्क अनुसार सो अवधिमा १३३ वटा घर पूर्ण रूपले जलेर नष्ट हुँदा लाखौँ धनसम्पत्ति नष्ट भएको छ । सो अवधिमा ३४७ घरमा आंशिक क्षति पुगेको छ । विभागका अनुसार ३३५ गोठ जलेर नष्ट भएका छन् भने ५९२ पशुचौपायाको जलेर मृत्यु भएको छ । सो अवधिमा डढेलोका कारण मानवीय क्षतिबाहेक ९१ करोड ७९ लाख २७ हजार मूल्य बराबरको क्षति भएको विभागले जनाएको छ । यो अवधिमा डढेलोले एक लाख ५१ हजार ४३९ हेक्टर वनक्षेत्र नष्ट भएको बताइएको छ । सो वनक्षेत्रमा जैविक विविधता पूर्ण रूपमा नष्ट भएको विभागले जनाएको छ ।
वन तथा भूसंरक्षण विभागले २०८२ साल वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको डढेलोको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा यो अवधिमा देशभरि डढेलोका २८२ वटा घटना भएको उल्लेख गरिएको छ । ती घटनाबाट जनधनको क्षति मात्र नभई वनविनाश, जैविक विविधतामा हानिनोक्सानी, वन्यजन्तु आगलागीमा परी मरेको कुरा पनि उल्लेख गरिएको छ ।डढेलो विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भौगोलिक अवस्थामा हेर्दा चुरे सिवालिक क्षेत्र र मध्यपहाडी क्षेत्रमा बढी डढेलो लाग्ने गरेको पाइएको छ । स्याटेलाइट तस्बिरले देखाएको विवरण हेर्दा गत वैशाखमा एकै दिन सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र जिल्लागत रूपमा हेर्दा कञ्चनपुर जिल्लामा सबैभन्दा बढी डढेलो लागेको विभागले जनाएको छ । राष्ट्रिय निकुञ्जमा डढेलो लाग्दा वन्यजन्तुमा क्षति हुने गरेको र वन्यजन्तुको वासस्थानसमेत प्रभावित हुने गरेको वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले बताउनुभयो ।
हरेक वर्ष झैँ यस वर्ष पनि चैत १ गतेदेखि विभिन्न कार्यक्रमका साथ डढेलो व्यवस्थापन सप्ताह मनाइँदै छ । वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह र समुदायलाई एकीकृत र प्रभावकारी रूपमा डढेलो लाग्न नदिन र लागेमा पनि तत्काल नियन्त्रणका उपाय अवलम्बन गरी डढेलो व्यवस्थापन सप्ताह मनाउने कार्यक्रम रहेको जनाएको छ ।





